नुवाकोटको त्रिशूलीमा छठ पर्वको रौनक



नुवाकोट, कात्तिक १० — पहाडी जिल्ला नुवाकोटको त्रिशूलीमा छठ पर्व धार्मिक र सांस्कृतिक भावनासहित मनाइएको छ। जिल्लामा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले उदाउँदो सूर्यलाई अर्घ दिँदै यस वर्षको छठ पर्व उत्साहपूर्वक मनाएका छन्।

त्रिशूली नदी किनारमा नुहाइ धुवाई गरेर शुद्ध वस्त्रमा व्रत बसेका व्रतालुहरूले नाङ्लो, कनसुप्ती, ढकना, सरबालसहितका विभिन्न प्रसाद लिएर सूर्यदेवतालाई अर्घ चढाएका थिए। ठकुआ, भुसुवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप–दीपलगायतका सामाग्री प्रयोग गरी पूजाआजा गरिएको थियो।

जिल्लाका अन्य क्षेत्रमा पनि त्रिशूली, देवीघाट, बेत्रावती र तादीको ढिकुरेमा छठ पर्व मनाउन थालिएको छ। छठ पर्वले धार्मिक श्रद्धा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्