कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर प्रस्थान
काठमाडौं, कात्तिक ११ — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। देउवा दम्पती गएराति १० बजे सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका हुन्।
गत भदौ २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट देउवा घाइते भएका थिए। उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत रहँदा गर्दनमा १२ टाँका लगाइएको थियो। कांग्रेसका अनुसार, घाइते देउवाको थप उपचारका लागि सिंगापुर प्रस्थान गरिएको हो।
जेनजी आन्दोलनमा आक्रमण भएपछि देउवाले असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
कांग्रेस नेताहरूका अनुसार, सिंगापुरमा देउवाको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि केही दिन बस्ने योजना रहेको छ।

