प्रथम झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेल नेपाल पुलिस र चर्च ब्वाइजबीच
झापा, कात्तिक ११— यही कात्तिक १५ गतेदेखि सुरु हुने प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको छ। शिवसताक्षी नगरपालिका–५ स्थित दुधे रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट महिला फुटबल प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब महिला टिम र चर्च ब्वाइज युनाइटेड महिला टिमबीच हुनेछ।
आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ। दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब (सिक्किम)बीच हुनेछ। तेस्रो खेल कात्तिक १७ गते संकटा फुटबल क्लब र झापा फुटबल क्लबबीच हुनेछ भने चौथो खेल कात्तिक १८ गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लबबीच हुने तय गरिएको छ।
प्रतियोगिताको पहिलो सेमिफाइनल कात्तिक १९ गते र अन्तिम सेमिफाइनल कात्तिक २० गते हुनेछ। फाइनल खेल कात्तिक २२ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए। उनका अनुसार तीन हजार दर्शक क्षमता भएको स्थायी प्यारापिटमा कुर्सी जडानको काम पूरा भइसकेको छ भने १० हजार दर्शक क्षमता भएको बाँसको अस्थायी प्यारापिट पनि तयार गरिएको छ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
त्यस्तै, हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकको भनाइअनुसार, झापा महिला गोल्डकप यसअघिका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक, भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

