त्रिदेशीय फुटबलमा भारतमाथि नेपालको शानदार जित, उप–विजेता बन्यो नेपाल
शिलङ,कात्तिक ११ — नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि शानदार जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
नेपालका लागि कप्तान सावित्रा भण्डारी (साम्बा) निर्णायक साबित भइन्। उनले खेलको दोस्रो मिनेटमै विमला विकको लामो पासमा भारतीय डिफेन्डरलाई पछाडि पार्दै पहिलो गोल गरिन्। त्यसपछि ६३औँ मिनेटमा सावित्राले दोस्रो गोल थप्दै नेपालको अग्रता दोब्बर बनाइन्।
भारतका लागि करिश्मा सिरभोकरले ८१औँ मिनेटमा एक गोल फर्काए पनि बाँकी समयमा बराबरी गोल गर्न नसक्दा घरेलु टोली पराजित भयो।
यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो। इरानले नेपाल र भारत दुबैलाई हराउँदै उपाधि हात पारेको छ।
भारतले दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट अंकविहीनै बाहिरिएको छ। कप्तान सावित्राको उत्कृष्ट प्रदर्शनले नेपाली महिला फुटबलमा नयाँ ऊर्जा भरेको बताइएको छ।

