मुस्ताङ प्रशासनको आग्रह : प्रतिकूल मौसमका कारण हिमाली पदमार्गमा पदयात्रा नगर्न अनुरोध
मुस्ताङ,कात्तिक ११— प्रतिकूल मौसमका कारण मुस्ताङ प्रशासनले यहाँका उच्च हिमाली पदमार्गमा यात्रा नगर्न पदयात्री र पर्यटकलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको चेतावनीपछि बुधबारसम्मका लागि पदयात्रा स्थगित गर्न अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्ला पास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायत क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने अनुमान गरिएको छ।
‘उच्च हिमाली क्षेत्रका मार्गहरूमा हिउँ पर्ने सम्भावना भएकाले पदयात्री, गाइड तथा सञ्चालकहरूलाई तत्काल पदयात्रा नगर्न अनुरोध गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
प्रशासनले जिल्लाका अन्य क्षेत्रमा पनि बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक, तीर्थयात्री तथा स्थानीयवासीले मौसम पूर्वानुमानको जानकारी लिएर अत्यधिक सतर्कताका साथ यात्रा गर्न अनुरोध गरेको छ।

