अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र
पोखरा,कात्तिक ११ — अन्नपूर्ण आधारशिविर (एबीसी) क्षेत्रबाट १३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक समूह र दुई जनाको अर्को समूह हालसम्म सम्पर्कमा नरहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ का अध्यक्ष भरत कुमार पुनले जानकारी दिएका छन्।
सम्पर्कविहीन पर्यटकको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ११ जनाको संयुक्त टोली परिचालन गरिएको अध्यक्ष पुनले बताए। उनका अनुसार टोलीले बिहानैदेखि खोजी कार्य सुरु गरेको छ।
हालसम्म उक्त क्षेत्रमा ठूलो हिमपहिरो गएको कुनै रेकर्ड नभएकाले पर्यटकहरू मोबाइल सिग्नल नपर्ने स्थानमा अड्किएको वा आश्रय लिएर सुरक्षित रहेका हुनसक्ने अनुमान गरिएको छ।
हिजो रातिदेखिको लगातार हिमपातपछि पदमार्ग कठिन बनेको र संचार सुविधा अवरुद्ध भएकाले सम्पर्कमा समस्या आएको जनाइएको छ।
यसैबीच, मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधारशिविर पुगेका अन्य पर्यटकलाई गएराति १२ बजेसम्ममा नारच्याङ र भुरुङ तातोपानीसम्म झारिएको पालिका अध्यक्ष पुनले बताए।
स्थानीय प्रशासनले मौसम सुधार भएपछि खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउने तयारी गरेको छ।

