तनहुँमा माइक्रोबस दुर्घटना, एक महिलाको मृत्यु र १३ जना घाइते
तनहुँ,कात्तिक ११ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा आज भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन्। टाउकामा गम्भीर चोट लागेकी तामाङको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०९३७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउको भित्तामा ठोक्किँदा र त्यहाँ रोकिराखिएको नेपाल विद्युत् प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारीसाधनमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी माइक्रो चालक लमजुङ बेँसीशहर नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर–१६ की ४५ वर्षीया शान्तामाया तामाङ, ३७ वर्षीय डोलराज तामाङ, भरतपुर–२८ लोखरीकी ४८ वर्षीया कमई तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मङ्गली तामाङ र उनकी ५ वर्षीया छोरी सिर्जना तामाङ घाइते भएका छन्।
त्यसैगरी लमजुङ दोर्दी गाउँपालिका–४ की २० वर्षीया गङ्गा तामाङ, सोही गाउँपालिका–८ की ६३ वर्षीया मैतीमाया तामाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका–१७ की ४७ वर्षीया इन्द्रकुमारी तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ।
सबै घाइतेहरूको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

