अकस्मात् वर्षाले नुवाकोटका किसान चिन्तित, खेतमै भिज्यो भित्र्याउने तयारीमा रहेको धान



नुवाकोट, कात्तिक ११ — नुवाकोटका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि परेको अकस्मात् वर्षाले खेतमा भित्र्याउन तयारी अवस्थामा रहेको धान भिजेपछि किसानहरू चिन्तित भएका छन्। सदरमुकाम विदुर, छहरे, रातमाटे, तुप्चे, पीपलटारलगायत क्षेत्रमा परेको वर्षाले काट्न बाँकी र काटिसकेको दुवै खालको धान प्रभावित भएको छ।

धान पाकेपछि काटेर मुठा बनाइएका, निहिनमा सुकाइएका तथा काट्न तयारी अवस्थामा रहेका धानमा वर्षाको पानी परेपछि सयौं किसानले उत्पादन नोक्सान हुने डर व्यक्त गरेका छन्। किसानका अनुसार लगातार घाम नलागी पानी पर्ने अवस्था रहिरहेमा खेतमै भिजेको धान उम्रने सम्भावना पनि उच्च रहेको छ।

विदुर नगरपालिका–६, इनारपाटीका किसान मधुसुदन अधिकारीले भने, “धान भित्र्याउन खेताला खोज्दै थियौं, तर पानी परेर काम रोकियो। काट्ने तयारीमा राखेको धान नै भिज्यो।” त्यस्तै अर्का किसान चक्रपाणि अधिकारीले भने, “पानी पर्दैन भनेर काटिएको धान अहिले सुकाउन नपाउँदै भिजेको छ। लगातार पानी परे धान खेतमै उम्रन्छ होला।”

किसानहरूका अनुसार यस वर्ष बीउ र मलको अभावका बीच पनि धान उत्पादन राम्रै भएको थियो, तर हिउँदे वर्षातले ठूलो नोक्सानी ल्याएको छ। विशेषगरी मध्यम र मसिनो जातका धान ढिलो पाक्ने भएकाले अहिलेका दिनमा ती धान नै बढी प्रभावित भएका छन्।

कृषि प्राविधिकका अनुसार नुवाकोटमा हालसम्म करिब ४५ प्रतिशत धान भित्र्याउन बाँकी छ। यसमध्ये धेरैजसो खेतमा अहिले सुकाउने क्रममा रहेको वा काट्न बाँकी धान भिजेका कारण किसानहरू थप समस्यामा परेका छन्।

यदि आगामी दिनहरूमा मौसम सुधार नआएर वर्षा जारी रह्यो भने उत्पादनमा ठूलो क्षति हुने कृषि विज्ञहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्