कास्कीमा प्रहरी इकाइमा आगजनी, तोडफोड र हतियार लुटपाट प्रकरणमा १० जना पक्राउ
कास्की,कात्तिक १२ । कास्कीका विभिन्न प्रहरी इकाइमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। २०८२ भदौ २४ गतेकाे आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आक्रमण गरी आतङ्क फैलाउने कार्यमा उनीहरू प्रत्यक्ष संलग्न रहेको कास्की प्रहरीले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले तीनवटा प्रहरी एकाइमा भएका घटनाहरूमा संलग्न रहेको प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा हतियार लुटपाट गरी जलाउने कार्यमा संलग्न चार जना, वडा प्रहरी कार्यालय बगरमा हतियारका थुप्रोमा आगो लगाउने एक जना र प्रहरी चौकी नयाँपुलमा आगलागी गर्ने पाँच जना गरी १० जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी–४ घर भई हाल पोखरा–४ बस्ने २४ वर्षीय राजेश मक्रान्ती, पोखरा–४ का ५४ वर्षीय नारायण साई, पोखरा–११ का २२ वर्षीय अरुण विक, पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगर, पोखरा–१ का ४३ वर्षीय दिपु साई, अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलका ४७ वर्षीय लङबहादुर नेपाली, सोही स्थानका १९ वर्षीय अरविन विक, ६२ वर्षीय थमबहादुर सार्की, ४२ वर्षीय पूर्णबहादुर नेपाली र अन्नपूर्ण–६ हाइजुङका २२ वर्षीय ग्रिस क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार उनीहरू आन्दोलनका नाममा विभिन्न प्रहरी कार्यालयमा आक्रमण, आगजनी तथा हतियार लुटपाट गर्ने समूहको सक्रिय सदस्य रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास पनि भइरहेको प्रहरीले जनाएको छ।

