बेमौसमी हिमपात : कात्तिकमै तीन जनाको लेक लागेर मृत्यु, देशभर चिसो बढ्यो



काठमाडौँ, कात्तिक १२ । नेपालमा यस वर्ष कात्तिकमै बेमौसमी हिउँ परेको छ । अचानक बढेको हिमपात र चिसोका कारण लेक लागेर तीन जनाको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सोलुखुम्बुमा एक कोरियाली पर्यटक, मनाङमा एक नेपाली पथपदर्शक र मुस्ताङको मार्फामा शैक्षिक भ्रमणमा गएका एक कार्यालय सहयोगीको ज्यान गएको हो।

यस्तै, मनाङको तिलिचो ताल क्षेत्र घुम्न गएका काठमाडौँका ४५ वर्षीय एक व्यक्तिलाई लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ।

पहिले पुस–माघमा मात्रै हिमपात हुने उच्च हिमाली भूभागमा यस वर्ष असोज–कात्तिकमै हिउँ परेपछि देशभर चिसो एक्कासि बढेको छ । हिमाली जिल्ला डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, जोमसोमदेखि सगरमाथा आधार शिविरसम्म भारी हिमपात भएपछि स्थानीयको दैनन्दिन जीवन कष्टकर बनेको छ ।

हिउँ, वर्षा र बदलीका कारण सडक, नदी, लेक र पदमार्ग हिउँले छोपिँदै गएपछि हिमाली क्षेत्रका बासिन्दा घरबाट निस्कनसमेत कठिनाइमा परेका छन् ।

पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्टका अनुसार सगरमाथा क्षेत्र सोमबार साँझदेखि लगातार हिउँ परेको छ र चिसो थप कठ्यांग्रिने अवस्थामा पुगेको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडीमा उत्पन्न ‘मोन्था’ चक्रवात, अरब सागरको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले हिमाली भेगमा हिउँ र देशभर वर्षा गराएको हो। मनाङको चामेमा ५०.६ मिमि र जोमसोममा ४१ मिमि वर्षा रेकर्ड गरिएको छ, जुन उच्च भेगका लागि अत्यधिक मानिन्छ।

मौसम पूर्वानुमान महाशाखाले हिमपात केही दिन जारी रहने र वर्षा भने बुधबार हल्का कम भए पनि बिहीबारदेखि पुनः बढ्ने जानकारी दिएको छ। शनिबारसम्म देशभर बदली, चिसो र हिमपातको असर कायम रहनेछ ।

काठमाडौं उपत्यकामा पनि बदली र हल्का वर्षाका कारण चिसो बढेको छ । चन्द्रागिरि, फूलचोकी र नगरकोट आसपासका डाँडा पानीसँगै कुहिरोले ढाकिएका छन्। महाशाखाले केही दिन अत्यावश्यक बाहेक यात्रा नर्गन र मौसम विवरण चाँडै चाँडै हेर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्