देशभरका अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्न थाले
काठमाडौँ,कात्तिक १२ । देशका विभिन्न अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, दम तथा टाउको दुखाइका समस्या लिएर आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्लो समय मौसमी फ्लुका केस बढिरहेका छन्। “रुघाखोकी र ज्वरोजस्ता सामान्य लक्षणले प्रभावित बिरामी धेरै आएका छन्,” डा. पुनले बताउनुभयो। उहाँका अनुसार जाडो मौसममा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू उच्च जोखिममा हुने भएकाले विशेष सावधानी आवश्यक छ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले अस्पतालमा दैनिक १,५०० देखि २,००० नयाँ बिरामी आउँदा ५०–६० जनामा मौसमी फ्लु देखिने गरेको जानकारी दिनुभयो। भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्र भट्टले पनि हाल फ्लुका बिरामी बढेको पुष्टि गर्नुभयो।
कान्ति बाल अस्पतालमा दैनिक करिब ६०० बालबालिका ओपीडीमा उपचारका लागि आउने गर्छन्, जसमा रुघाखोकी, ज्वरोलगायतका लक्षण देखिने बिरामीको सङ्ख्या उच्च छ। आकस्मिक कक्षमा पनि दैनिक १५० जति बालबालिका उपचारका लागि पुग्ने गरेका छन्।
डा. पुनका अनुसार मौसमी फ्लु ‘इन्फ्लुएन्जा भाइरस’का कारण हुने भएकाले मौसम परिवर्तनसँगै यसको संक्रमण बढ्ने गर्छ। सामान्यतया ज्वरो, घाँटी दुख्ने, शरीर दुख्ने र निरन्तर खोकी लाग्ने प्रमुख लक्षण देखिन्छन्। केही बिरामीमा निमोनिया हुने सम्भावना पनि हुन्छ।
उहाँले फ्लु देखिएको अवस्थामा अत्यधिक आत्तिनु नपर्ने बताउँदै पर्याप्त झोलिलो खानेकुरा खान, केही दिन आराम गर्न तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि सेवन गर्न आग्रह गर्नुभयो।
स्वास्थ्यकर्मीहरूले चिसो बढ्दै गएसँगै जोखिम समूहका व्यक्तिले विशेष सतर्कता अपनाउन र लक्षण देखिएमा समयमै अस्पतालमा जाँच गराउन आग्रह गरेका छन्।

