त्रिविद्वारा नयाँ शैक्षिक क्यालेण्डर सार्वजनिक, भर्नादेखि परीक्षासम्म स्पष्ट समयरेखा



काठमाडौं,कात्तिक १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८२ सालदेखि सुरु हुने शैक्षिक सत्रका लागि विस्तृत ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। नयाँ क्यालेण्डरले स्नातक र स्नातकोत्तर तहमा भर्नादेखि कक्षा सञ्चालन, परीक्षा तथा परीक्षाफल प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया स्पष्ट समयरेखासहित निर्धारण गरेको छ।

शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले प्राज्ञिक परिषद्को निर्णय अनुसार नै क्यालेण्डर जारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विश्वविद्यालयका ६४ आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पस तथा ४४ केन्द्रीय विभागले अबदेखि यही क्यालेण्डरअनुसार कक्षा, परीक्षा तथा नतिजा प्रकाशन गर्नुपर्नेछ। यसले विगतमा देखिँदै आएको ढिलासुस्ती अन्त्य गरी शैक्षिक सत्रलाई नियमित, पारदर्शी र समयबद्ध बनाउने लक्ष्य लिएको छ।

स्नातक तहमा वार्षिक र सेमेष्टर दुवै कार्यक्रमलाई समेटेर क्यालेण्डर तयार भएको छ। स्नातक सेमेष्टर प्रणालीअन्तर्गत भर्ना फाराम कात्तिकभित्र, प्रवेश परीक्षा र भर्ना मङ्सिरमा गर्ने र सोही महिनादेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। पहिलो सेमेष्टरको परीक्षा २०८२ चैतभित्र सम्पन्न गर्ने र परीक्षाफल २०८३ असारमा प्रकाशन गर्ने उल्लेख छ। आठ सेमेष्टरको सम्पूर्ण स्नातक अध्ययन चार वर्षमै पूरा गर्ने गरी क्यालेण्डर तयार गरिएको छ, जसअनुसार अन्तिम सेमेष्टरको नतिजा २०८७ भदौमा प्रकाशन हुनेछ।

वार्षिक प्रणालीमा साउनदेखि मङ्सिरसम्म भर्ना, मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फाराम, साउनमा परीक्षा र कात्तिकमा परीक्षाफल प्रकाशित गर्ने व्यवस्था गरिएको छ। त्रिविको लक्ष्यअनुसार स्नातक वार्षिक कार्यक्रम २०८५ चैतमा सकिने गरी कार्यतालिका निर्धारण गरिएको छ।

स्नातकोत्तर तहको सेमेष्टर प्रणालीका लागि पनि कडा समयरेखा तय गरिएको छ। पहिलो सेमेष्टर भर्ना फाराम मङ्सिरमा, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सुरु, जेठमा परीक्षा र २०८३ भदौमा नतिजा प्रकाशित गरिने उल्लेख छ। यस वर्ष भर्ना हुने विद्यार्थीले २०८४ मङ्सिरसम्ममा स्नातकोत्तर तह पूरा गर्नेछन्। चौथो सेमेष्टरको कक्षा २०८४ वैशाखमा सुरु भई भदौमा परीक्षा र त्यसै वर्ष मङ्सिरमा नतिजा आउनेछ।

त्रिविले सार्वजनिक गरेको यो ‘शैक्षिक क्यालेण्डर’ कार्यान्वयनमा आएपछि विश्वविद्यालयका सबै क्याम्पसमा शैक्षिक गतिविधि नियमित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्