रैनादेवीछहरामा इभी गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु



पाल्पा,कात्तिक १२ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ सम्मडाँडा नजिकै इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट छहरा–मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्बरको इभी गाडी करिब ६०० मिटर तल भीरमा खसेको हो।

दुर्घटनामा रैनादेवीछहरा–४ का ३४ वर्षीय चालक कमल रायमाझी, रैनादेवीछहरा–१ सिद्धेश्वरका ४५ वर्षीय मुक्तबहादुर बुढाथोकी र मेहलढापका ३२ वर्षीय रामबहादुर गाहा गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष गोविन्दबहादुर रायमाझीले जानकारी दिए।

इभीले छहरा बजारमा यात्रु झारेर मेहलढापतर्फ अघि बढेकोमा लामो समयसम्म गन्तव्यमा नपुगेपछि स्थानीयले खोजी सुरु गरेका थिए। खोजतत्पश्चात भीरमा खसेको अवस्थामा गाडी फेला परेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक कमल प्रधानको नेतृत्वमा टोली घटनास्थल पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्