प्रधानमन्त्री कार्की : “मुलुकको समस्या सबै मिलेर समाधान गर्नुपर्छ, निरन्तर संवाद आवश्यक”



काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहबीच निरन्तर संवाद तथा विचार–विमर्श आवश्यक भएको बताउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिपक्षीय छलफलमा उहाँले साझा समस्याहरू समाधान गर्न सबै पक्ष एक ठाउँमा आएर नियमितरूपमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले संवादको सुरुआत गर्दै भन्नुभयो, “सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन। एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुआत गरेका छौँ, अब यसलाई निरन्तरता दिऔँ।” आगामी निर्वाचनको वातावरण तयार पार्न उहाँले आयोजना गर्नुभएको यो पहिलो त्रिपक्षीय र महत्वपूर्ण छलफल हो।

छलफलमा सहभागी जेनजी समूहका प्रतिनिधिहरूले चुनाव आवश्यक भएको स्वीकार गर्दै मात्र चुनाव–चुनाव भनिरहनुको अर्थ नहुने टिप्पणी गरे। उनीहरूले सुशासन र भ्रष्टाचारविरुद्धको कठोर कारबाही नै आफ्नो आन्दोलनको मूल मुद्दा भएको उल्लेख गर्दै सरकारले यसतर्फ गम्भीरता देखाउनुपर्नेमा जोड दिए।

बैठकमा सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसहित राजनीतिक दलका शीर्ष नेता र प्रतिनिधिहरूको सहभागिता थियो। जेनजी समूहतर्फबाट मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन राना मगर सहभागी भएका थिए।

छलफलमा उठेका विषय र निष्कर्षबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रेस ब्रिफिङमार्फत विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्