बच्छलादेवी मन्दिरमा भव्य मेलाको तयारी, श्रद्धालुहरूको घुइँचोको अपेक्षा



नुवाकोट, कात्तिक १३ । पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी तीव्र भएपछि यस वर्ष पनि भक्तजनको ठूलो भीड लाग्ने अनुमान गरिएको छ। मन्दिर संरक्षण समितिका अनुसार मन्दिर परिसरमा सरसफाइदेखि बिजुलीबत्तीको व्यवस्थासम्मका काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

मन्दिर संरक्षण समितिका सदस्य रबिन्द्र तामाङका अनुसार राति मेला लाग्ने भएकाले विशेष रूपमा प्रकाश व्यवस्थापन र परिसर सफाइमा ध्यान केन्द्रित गरिएको छ। गाउँकी देवीका रूपमा पूजिने बच्छलादेवी मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीमा मेला लाग्ने परम्परा रहेको छ।

साँझ भक्तजनहरूले दीपप्रज्वलन गरी जाग्राम बसेर भजन, चुट्का र धार्मिक कार्यक्रमहरू सञ्चालन गर्ने परम्परा यस वर्ष पनि यथावत रहनेछ। यससँगै मेलालाई अझ आकर्षक बनाउन यसवर्ष स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा प्रत्यक्ष दोहोरी कार्यक्रम पनि समावेश गरिएको छ।

ख्यातिप्राप्त गायक बद्री सिटौला, जगत बोगटी लगायतको टिमले रातभर सांगीतिक मनोरञ्जन प्रस्तुत गर्ने मन्दिर संरक्षण समितिका सदस्य जीवन सिटौलाले जानकारी दिए। साथै झाक्री नाच, लोक खैचडी भजन लगायतका सांस्कृतिक प्रस्तुतीले मेलालाई झनै रंगीन बनाउनेछ।

औपचारिक कार्यक्रमको प्रमुख अतिथि पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रहने आयोजकले जनाएको छ। मेला नजिकिँदै गएसँगै स्थानीयहरूमा उत्साह छाएको छ। मेला यही कात्तिक १८ गते बेलुकीदेखि १९ गतेसम्म लाग्दैछ।

प्रतिक्रिया दिनुहोस्