हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार पर्यटकको सुरक्षित उद्धार
काठमाडौँ, कात्तिक १३ । देशका उच्च हिमाली क्षेत्रमा परेको अविरल वर्षा र भारी हिमपातका कारण अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका विभिन्न पदमार्गमा अड्किएका स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई बुधबारसम्म ठूलो सङ्ख्यामा सुरक्षित स्थानमा ल्याइएको सम्बन्धित जिल्लाका प्रशासनले जनाएको छ।
मनाङमा सबैभन्दा धेरै पर्यटक फसेका थिए। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार तिलिचो, खाङ्सार, पिसाङ, उपल्लो मनाङलगायत स्थानमा रोकिएका एक हजार पाँच सयभन्दा बढी पर्यटकको उद्धार सम्पन्न भएको छ। “उपल्लो क्षेत्रका होटल–लजहरूमा पुगेका हाम्रा टोलीले सबैको अवस्था बुझेर उद्धार गरेका हुन्। अहिले केही आफ्नै इच्छाले बसेकाबाहेक सबै सुरक्षित रूपमा चामे र बेँसीसहरतर्फ झारेका छौँ,” प्रजिअ पौड्यालले बताए।
हिमपातले बाटो अवरुद्ध भएपछि सवारीसाधन अभाव देखिएपछि पर्यटकलाई १५ जिप र दुई बसमार्फत गन्तव्यतर्फ पठाइएको हो। उद्धारमा नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रिय सहयोग रहेको प्रशासनले जनाएको छ।
म्याग्दी–मुस्ताङमा संयुक्त उद्धार अभियान
म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ जाँदै गरेका पर्यटक हिमपातका कारण हिँड्न भ्याली क्षेत्रमा रोकिएका थिए। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार तीन जना विदेशी र १२ जना नेपाली नागरिकसहित १५ जनाको उद्धारका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त टोली खटाएको छ। मुस्ताङको लेकखर्क क्षेत्रमा भेटिएका सात जापानी र पाँच नेपाली नागरिकलाई पनि सुरक्षित स्थानमा ल्याइएको छ।
धवलागिरि गाउँपालिका–४, मुदीस्थित इटाली आधारशिविर हुँदै मार्फातर्फ जाँदै गरेका १२ नेपाली र तीन बेलायती पर्यटक सोमबार रातिदेखि परेको निरन्तर हिमपातका कारण भ्यालीमा अड्किएका थिए। उनीहरूको उद्धार बिहीबारसम्म पूरा गर्ने तयारी सेनाले जनाएको छ।
२५० जनाको स्वास्थ्य परीक्षण
सशस्त्र प्रहरी बल नं. ३३ गुल्म मुस्ताङले उद्धार कार्यसँगै २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ९० महिला र ६० पुरुषको अक्सिजन लेभल तथा ६० महिला र ४० पुरुषको रक्तचाप जाँचिएको छ। धेरैमा रिँगटा, टाउको दुखाइ, वाकवाकी र सास फेर्न समस्या देखिएकाले प्राथमिक उपचार प्रदान गरिएको छ।
उत्तरी गोरखामा आरोही खोजी–उद्धार कठिन
चीनको सीमामा पर्ने उत्तरी गोरखास्थित पाङबारी हिमाल आरोहणमा गएका तीन इटालेली र तीन नेपाली आरोहीसँग सोमबार बेलुकादेखि सम्पर्क हुन नसक्दा उद्धार चुनौतीपूर्ण बनेको छ। ११ दिनअघि पातबारी हिमाल आधारशिविरतर्फ गएका उनीहरू निर्धारित समयमै फर्कनुपर्नेमा स्याटेलाइट फोन नचल्नाे वा अन्य कारणले सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए।
उनीहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा रहे पनि खराब मौसमका कारण उडान गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

