बन्चरे डाँडामा फोहोर फाल्न रोकियो, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः संकटमा
काठमाडौँ, कात्तिक १३ । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवा–बन्चरे डाँडामा पुनः फोहोर फाल्न रोकिएको छ। पहिले भएका माग तथा सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले बुधबारदेखि फोहोर बोकेका ट्रकहरू साइटमै प्रवेश गर्न नदिई रोकेका हुन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार करिब ५० भन्दा बढी फोहोर बोकेका ट्रकहरू फोहोर विसर्जन गर्न नपाएपछि फर्किनु परेको छ।
२०७९ जेठ २ गते काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका, धुनीवेसी नगरपालिका, वडाध्यक्ष तथा स्थानीयवासीबीच बन्चरे डाँडा–कुडुले ल्याण्डफिल साइट सुधारका लागि १८ बुँदे सहमति गरिएको थियो। तर घर–टहराको क्षतिपूर्ति, सडकको जग्गा लगत कायम, पहिरो नियन्त्रण, फोहोर यातायात सुधार, वैज्ञानिक व्यवस्थापनलगायतका बुँदा अझै कार्यान्वयन नभएको स्थानीयवासीको आरोप छ। सहमति बेवास्ता भएकाले आन्दोलन गर्न बाध्य भएको ककनी–१ का वडाध्यक्ष पदमबहादुर बलामीले बताए।
फोहोरले फैलाएको दुर्गन्ध, वातावरणीय जोखिम र अध्ययनमा परेको असरका कारण बुधबार विद्यार्थीहरू समेत प्लेकार्डसहित सडकमा उत्रिए। उनीहरूले वैज्ञानिक फोहोर व्यवस्थापन, लिच्चड नचुहिने व्यवस्था, प्रभावित क्षेत्रको अध्ययन, स्थानीय बस्तीको पुनःव्यवस्थापन तथा फोहोर छुट्याएर व्यवस्थापन गर्ने प्रणाली तुरुन्त लागू गर्न माग गरेका छन्। स्थानीयले फोहोर बोक्ने गाडीहरूलाई बाटोमै रोकिदिँदा बन्चरे डाँडामा फोहोर विसर्जन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
बन्चरे डाँडा ल्याण्डफिल साइटमा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाको फोहोर विसर्जन हुँदै आएको छ। दैनिक २५०–३०० ट्रक फोहोर लैजाने क्रम स्थानीय अवरोधपछि अनिश्चितकालका लागि रोकिएको हो। सहमति कार्यान्वयनमा ढिलाइ हुँदा प्रभावित क्षेत्रमा दुर्गन्ध र सरुवा रोग फैलिन थालेको, जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ। साढे तीन वर्षसम्म पनि सहमति लागू नभएकाले यसपटक कठोर कदम चाल्न बाध्य भएको स्थानीयको भनाइ छ।
सहमति कार्यान्वयन नहुन्जेल फोहोर विसर्जन नहुने स्थानीयको अडानसँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः अनिश्चिततामा परेको छ।

