सङ्खुवासभाका उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह



सङ्खुवासभा,कात्तिक १३ — जिल्लामा लगातार वर्षा र हिमपात भइरहेका कारण उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविरसहित उत्तरी हिमाली क्षेत्रतर्फ नजान सबैलाई अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार मङ्गलबारदेखि नै उच्च भूभागमा वर्षासँगै लगातार हिमपात भइरहेको र यात्रु तथा पर्वतारोहीका लागि जोखिम बढेकाले सतर्कता आवश्यक भएको बताइन्। “निरन्तर हिमपात हुँदा चिसो अत्यधिक बढेको, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको अभाव हुनसक्ने अवस्था देखिएपछि कात्तिक १५ सम्म पदयात्रा नगर्न अनुरोध गरेको हो,” उनले भनिन्।

मकालु आधार शिविरमा अहिले सत्तरी जना विदेशीसहित करिब २०० भन्दा बढी नेपाली पर्वतारोही रहेका छन्। वर्षा र हिमपातका कारण उनीहरू त्यहीँ बसिरहेकाे प्रशासनले जनाएको छ।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम बढेको र सडक अवरुद्ध हुनसक्ने चेतावनी दिँदै प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ। पहिरो सम्भावित क्षेत्रका परिवारलाई सतर्क रहन तथा जोखिममा परेकाहरूको स्थानान्तरणका लागि सहजीकरण गर्न १० वटै स्थानीय तहलाई निर्देशनसमेत दिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन्।

बाढी, पहिरो वा अन्य विपद्को जोखिम देखिएमा तत्काल जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन समेत प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्