बाग्मती प्रदेश सभा सदस्य राधिका तामाङको पहलमा चन्द्रामती खोलाको पक्की पुल निर्माण तीव्र, पुस मसान्तभित्र सम्पन्न गर्न निर्देशन
नुवाकोट,कात्तिक १३ । बाग्मती प्रदेश सरकारबाट विनियोजित बजेटमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–स्थित चन्द्रामती खोलामा निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अघि बढेको छ। पूर्व मन्त्री तथा बाग्मती प्रदेश सभा सदस्य माननीय राधिका तामाङले बिहीबार स्थलगत निरीक्षण गर्दै ढिलाइ नगरी पुस मसान्तभित्र निर्माण कार्य पूरा गर्न निर्देशन दिनुभएको छ।
स्थल निरीक्षणको क्रममा उहाँसँगै नुवाकोट जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापा, उपाध्यक्ष माकुरी तामाङ, नेकपा माओवादी केन्द्र दुप्चेश्वर गाउँपालिका कमिटी इञ्चार्ज लालबहादुर तामाङ, अध्यक्ष कमल खतिवडा, विभिन्न वडाका वडा अध्यक्ष तथा स्थानीय प्रतिनिधिहरू उपस्थित थिए।
निरीक्षण टोलीले निर्माण स्थलमा देखिएका समस्या, कामको प्रगति र समयसीमा सम्बन्धी पक्षबारे विस्तृत जानकारी लिएका थिए। यस क्रममा निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयका प्राविधिकलाई तोकिएको समय सीमा नाघिन नदिइ काम अगाडि बढाउन आग्रह गरिएको थियो।
नेतृ तामाङले निर्माण कार्यमा देखिएको ढिलासुस्ती तत्काल सुधार गर्न चेतावनी दिँदै स्थानीयवासीको लामो समयदेखिको माग पूरा गर्ने क्रममा कुनै बहाना स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो पुल गाउँपालिकाको यातायात सुविधा, बजार पहुँच र विकासका लागि महत्वपूर्ण आधार हो। तोकिएको समयमा निर्माण सम्पन्न भई स्थानीयले प्रत्यक्ष लाभ लिनुपर्छ।”
यस्तै, उहाँले यसै आर्थिक वर्षभित्र निर्माण हुने गरी विनियोजन भएको दुप्चेश्वर मन्दिरतर्फ जाने अर्को पक्की पुलको पनि स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनपछि उहाँले पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीलाई तत्काल टेण्डर प्रक्रिया अगाडि बढाई निर्माण कार्य सुरु गर्न निर्देशन दिनुभयो।
दुप्चेश्वर मन्दिरतर्फको पहुँचमार्गमा पुल निर्माण भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि र आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा रहेको छ। दुवै पुल पूरा भएपछि दुप्चेश्वर क्षेत्रको समग्र पूर्वाधार विकासमा नयाँ अध्याय सुरु हुने बताइएको छ।

