ओखरपौवा–सिसडोलमा रहेको ल्याण्डफिट साइट सञ्चालन अवरुद्ध, नुवाकोट प्रशासनले समस्या समाधान गर्न पहल सुरु



नुवाकोट,कात्तिक १३ । नुवाकोट जिल्लाको ओखरपौवा–सिसडोल क्षेत्रमा रहेको व्यावसायिक ल्याण्डफिट साइट (फोहोर व्यवस्थापन साइट) सञ्चालन अवरुद्ध भएपछि सेवाग्राहीले भोगिरहेको समस्यालाई समाधान गर्ने उद्देश्यले नुवाकोट प्रशासन सक्रिय बनेको छ। कात्तिक १२ गतेदेखि फोहोर बोकेर आउने सवारी साधनको आवतजावत रोकिएको कारण सङ्कलन तथा व्यवस्थापन प्रभावित भएपछि प्रशासनले विज्ञप्ति जारी गर्दै समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय, नुवाकोटले बिहीबार सार्वजनिक गरेको सूचनामा काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लाको स्थानीय तहबाट उत्पन्न हुने फोहोर व्यवस्थापनका लागि ओखरपौवा–सिसडोल साइटमा निर्बाध सेवा उपलब्ध गराउनुपर्नेमा हाल विभिन्न बाधा–अड्चन देखिएको उल्लेख छ। यसले सर्वसाधारणको स्वास्थ्य, सरसफाइ र नियमित जनजीवनमा अवाञ्छित जोखिम बढाएको प्रशासनको भनाइ छ।

सूचनामा सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगर र सरोकारवाला स्थानीय तहलाई २०७४ सालको आवश्यक सेवा सञ्चालन तथा नियमित जीवनयापन सुनिश्चित गर्ने ऐन र नेपाल सरकारद्वारा ‘आवश्यक सेवा’ का रूपमा सूचीकृत फोहोर व्यवस्थापनसम्बन्धी प्रावधानको पालनामा खास ध्यान दिन आग्रह गरिएको छ।

जिल्ला प्रशासनले आवश्यक सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न जाने हुँदा समस्या समाधानका लागि वार्ता र समन्वयमार्फत् त्वरित कदम चाल्नुपर्नेमा जोड दिएको छ। सूचनामा भनिएको छ, “आवश्यक सेवा प्रभावित हुन नदिन वार्ताबाट समाधान गर्ने प्रयास भए पनि अवाञ्छित गतिविधि रोक्न तथा सहज सेवा प्रवाह सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ।”

प्रशासनले फोहोर व्यवस्थापन सेवा अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका बासिन्दा र सेवा प्रदायक पक्षले ठूलो समस्या भोगिरहेको, त्यसैले विवाद समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।

सूचनामा कात्तिक १२ गतेदेखिको अवरोधका कारण फोहोर बोक्ने सवारी साधनलाई साइट प्रवेशमा रोकावट आएकाले छिटो सहमतिको वातावरण बनाउन सबै सरोकारवालाले साथ दिनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्