नुवाकोटको ढिकुरेमा मोटरसाइकल चालकका लागि हेल्मेट सचेतनामूलक होर्डिङ बोर्ड स्थापना
नुवाकोट,कात्तिक १४ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना बढाउने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोष्ट ढिकुरेको पहलमा मोटरसाइकल चालकलाई लक्षित गर्दै हेल्मेट प्रयोग सम्बन्धी सचेतनामूलक होर्डिङ बोर्डहरू जडान गरिएको छ।
टोखा–छहरे- त्रिशुली सडकखण्डको छहरेदेखि ढिकुरेसम्मका विभिन्न स्थानमा राखिएका यी होर्डिङ बोर्डहरूले सडक प्रयोगकर्तालाई हेल्मेटको अनिवार्यता र यसको महत्वबारे निरन्तर स्मरण गराउने लक्ष्य लिइएको हो ।
होर्डिङ बोर्डमा “तपाईंको टाउकोको ख्याल गर्नुहोस् !!! सबैलाई नयाँ टाउको पाइँदैन।” भन्ने सन्देशसहित “मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गरौं। हेल्मेटले टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउँछ।” भन्ने स्पष्ट चेतनामूलक जानकारी उल्लेख गरिएको छ।
अभियानबारे जानकारी दिँदै स्थायी ट्राफिक प्रहरी पोष्ट ढिकुरेका प्रहरी सहायक निरीक्षक शंकर रिमालले सडक सुरक्षासम्बन्धी चेतना विस्तारमा लिखु गाउँपालिकाको सहयोगले अभियानलाई थप प्रभावकारी बनाउन मद्दत गरेको बताए। उनका अनुसार छहरेदेखि ढिकुरेसम्मका पाँच स्थानमा होर्डिङ बोर्डहरू जडान गरिएको छ, जसलाई भीडभाड बढी हुने तथा दुर्घटनाको सम्भावना उच्च रहने क्षेत्र मानिन्छ।
प्रहरीका अनुसार यस्तो चेतनामूलक पहलले मोटरसाइकल चालकलाई सुरक्षाप्रति जिम्मेवार बनाउन तथा सडक दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

