बेमौसमी वर्षा र मोन्था चक्रवातले खेतमै अलपत्र धान, किसान गम्भीर समस्यामा
काठमाडौं,कात्तिक १४ । केही दिनयतादेखिको बेमौसमी वर्षा र बिहीबारदेखि सुरु भएको हावाहुरीसहितको मोन्था चक्रवातले देशभरका किसानको पकेटबालीलाई ठूलो क्षति पुर्याएको छ। लगातारको झरी र हुरीले भित्र्याउनठिक्क धानबाली खेतमै अलपत्र परेको हो ।
मोन्था चक्रवातको प्रभाव हिमाल, पहाड र तराई/मधेश सबै क्षेत्रमा समान रूपमा परेको छ। विशेषगरी नेपालको मुख्य अन्न भण्डार मानिने मधेश प्रदेशमा पाकेर भित्र्याउन तयार भएका धानबाली अचानक परेको वर्षाले ठूलो संकटमा परेका छन्। बारा जिल्लाको बारागढी गाउँपालिकामा किसान काटेर मुठा पारेको धानसमेत खेतमै भीजिरहेको स्थानीयले बताएका छन्।
गाउँपालिका अध्यक्ष अशोककुमार जैसवालका अनुसार “मधेशमा सबैभन्दा राम्रो उत्पादन हुने क्षेत्रमध्ये बारा अगाडि पर्छ, त्यसमा पनि बारागढी जिल्लाकै अब्बल। भित्र्याउन ठिक्क धान खेतमै डुबेर किसान मर्कामा परेका छन्।” उनका अनुसार एक–दुई दिनमै धान भित्र्याएर हिउँदे मकै लगाउने तयारी थियो, तर वर्षाले योजना नै अस्तव्यस्त बनाइदिएको छ।
मधेश मात्र होइन, पहाडी जिल्लाहरूमा पनि समान स्थिति छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा लगातारको वर्षाले काटेर राखिएको धानको पाँजो भिजेको छ। पैँयु गाउँपालिकाले क्षतिको विवरण संकलन गर्दै किसानलाई राहत दिलाउने तयारी गरेको जनाएको छ।
यता हिमाली क्षेत्रमा लगातारकै वर्षा र हिमपातले कृषि क्षेत्र झनै प्रभावित बनेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकामा हिउँ झरिरहेकाले किसानले भित्र्याइएको आलु र फापर घरमै थन्काउन बाध्य भएका छन्। गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले “बिक्री गर्ने तयारीमा राखिएको बाली वर्षा र हिमपातले अवरुद्ध भएको” जानकारी दिएका छन्। मुस्ताङमा पनि स्याउ बजार पुगिसके पनि अन्य बाली बोक्न कठिनाइ बढेको ल्होमन्थाङकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले बताइन्।
बेमौसमी वर्षा र हिमपातले किसान मर्कामा परेको भन्दै कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानलाई सजग रहन अनुरोध गरेको छ। मौसम सफा भएपछि मात्र बाली काट्न र काटिएका धानलाई सुरक्षित स्थानमा राख्न सुझाइएको छ। कृषि मौसमविद्हरूका अनुसार खेतमा रहेको धान छापो हालेर जोगाउनुपर्ने आवश्यकता भएको छ।
तर, यो मौसमी प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने देखिएको छ। पाखोबारीमा लगाइने आलु तथा अन्य तरकारीका बेर्नाका लागि हालको वर्षा अमृतसरह हुने कृषि विज्ञको भनाइ छ।
मोन्था चक्रवात अझै सक्रिय रहँदा बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेको मौसमविद्हरूले जनाएको छ। शुक्रबारसम्म वर्षा जारी रहने र शनिबार मध्याह्नदेखि मात्र मौसममा सुधार आउने सम्भावना छ।
उता, लगातारको वर्षाले सडकभागमा जोखिम बढेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन लामो दुरीका सवारी नचलाउन आग्रह गरेको छ। पहिरो र बाढीको जोखिम बढेपछि सिन्धुली, काभ्रे लगायतका जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनमा रोक लगाएका छन्। नवलपरासीमा भने आलोपालो सवारी चलाउने निर्णय गरिएको छ।
देशभर एकसाथ परेको मोन्था चक्रवातको प्रभावले किसानको खल्ती, बजार आपूर्ति र समग्र खाद्य सुरक्षामा गम्भीर असर पर्ने संकेत देखिन थालेका छन्।

