चक्रवात ‘मोन्था’को प्रभाव आज साँझसम्म नेपालमा, मध्यमदेखि भारी वर्षा र हिमपातको चेतावनी



काठमाडौं,कात्तिक १४ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ दक्षिण एसियामा प्रभाव पार्दै नेपालमा पनि आज साँझसम्म सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली हाल भारतको मध्य प्रदेश क्षेत्र आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा अवस्थित छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो।

विभागका अनुसार मोन्थासँगै पश्चिमी वायु र अरब सागरमा बनेको अर्को न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा परेको छ, जसका कारण बिहानैदेखि विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। आज साँझदेखि भने मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।

आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश पूर्ण रूपमा बदली रहनेछन्। अन्य प्रदेशमा आंशिक बदली देखिने विभागको भनाइ छ।

यी पाँच प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली तथा सुदूरपश्चिमका पहाडी–हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्छ। कोसी, मधेस, वाग्मती तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने चेतावनी विभागले दिएको छ।

यता उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासँगै हिमपातको जोखिम बढेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका धेरै उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपात हुन सक्ने, केही स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको विभागले स्पष्ट पारेको छ।

मौसमविद्हरूले चक्रवात मोन्थाको प्रभाव अझै सक्रिय रहेकोले सतर्कता अपनाउन, जोखिमयुक्त भूभागमा अनावश्यक यात्रा नगर्न र सम्भावित बाढी–पहिरोप्रति सावधान रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्