भिजिट भिसा प्रक्रिया सहज बनाउँदै सरकार, छबुँदे कार्यविधि खारेज



काठमाडौं,कात्तिक १५ । सरकारले अध्यागमन प्रशासनमा सुशासन र व्यावसायिकता वृद्धि गर्ने उद्देश्यसहित भिजिट भिसासम्बन्धी हाल लागू भएको छबुँदे कार्यविधि खारेज गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले विसं २०८० माघ १० मा जारी गरिएको सो कार्यविधि तत्काल प्रभावबाट हटाउने निर्णय गरेको हो।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै नयाँ व्यवस्था लागू भएकाले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकको प्रक्रिया अब झनै सहज र सरल भएको जानकारी दिएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पुरानो कार्यविधि खारेज भएसँगै अब भिजिट भिसाका लागि न्यूनतम डलर, अग्रिम होटल बुकिङ वा निमन्त्रणा पत्रका कागजात अनिवार्य रहने छैनन्।

नयाँ व्यवस्थापछि यात्रुले कम्तीमा छ महिनाको वैधता भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा वा ‘अन अराइभल’ भिसा भए पर्याप्त मानिनेछ। साथै, यात्रा प्रयोजन स्पष्ट उल्लेख गरिएको स्वघोषणा–पत्र, आवश्यक कागजातसहित प्रस्तुत गरेपछि भ्रमण अनुमति प्रदान गरिनेछ।

भिजिट भिसाका नाममा विगतमा संगठित मानव तस्करी हुँदै आएको तथा अध्यागमनका केही कर्मचारी नै संलग्न रहेको आलोचना बढेपछि सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो। समितिले नागरिकको मौलिक हक, आवतजावतको स्वतन्त्रता र दुरुपयोग रोकथामलाई सुनिश्चित गर्न सो कार्यविधि हटाउन सरकारलाई सुझाव दिएको थियो।

विभागले नयाँ व्यवस्था लागू भइसकेकाले कुनै पनि बिचौलियाको प्रभावमा नपरि आफ्नो यात्रा सम्बन्धी सम्पूर्ण जानकारी बुझेर मात्र विदेश जान सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्