आज हरिबोधिनी एकादशी, तुलसी–दामोदर विवाहसहित देशभर विशेष पूजा–अर्चना



काठमाडौँ, कात्तिक १५। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधिनी (प्रबोधिनी) एकादशी मनाउँदै भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गरिरहेका छन्।

कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई हरिशयनी एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा “योगनिद्रा” लिएका विष्णु आजको दिन ब्यूँझिने भएकाले अत्यन्त शुभ मानिन्छ। यसबीचका चार महिनामा विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने धार्मिक परम्परा रहिआएको छ।

तुलसी–दामोदर विवाह देशभर

आजका दिन घरघरमा रोपिएको तुलसीको मठलाई गोबर, रातो माटो र फूलमालाले सिँगारी तुलसी–विष्णुका प्रतीक दामोदरसँग विवाह गरिन्छ। तुलसीलाई विष्णुप्रिया मानिने भएकाले यो विधिअनुसार दामोदर (निगालाको लिङ्ग) राखी पूजा गर्ने चलन छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार हरिशयनीएकादशीदेखि सुरु हुने तुलसी व्रतको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित सम्पन्न गरिन्छ। कात्तिक महिनाभर देवदेवता तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।

तुलसीको धार्मिक तथा वैज्ञानिक महत्त्व

आदिकालदेखि पूजिँदै आएको तुलसी वैज्ञानिक रूपमा पनि लाभदायक मानिन्छ। तुलसीको सुगन्धले वातावरण पवित्र हुने, कीटाणु नाश गर्ने तथा विषालु सर्प नआउने विश्वासका साथै यसको रस रुघाखोकी, औलो तथा विभिन्न रोगमा औषधिको रूपमा प्रयोग गरिन्छ। तुलसीको रस शरीरमा लगाएर सुते लामखुट्टे टोक्दै टोक्दैन भन्ने जनविश्वास छ।

गरुड पुराणमा उल्लेख भएअनुसार एक तुलसीपत्र विष्णुलाई अर्पण गरे १० हजार गाई दान गरेबराबरको पुण्य प्राप्त हुन्छ। कात्तिक महिनामा तुलसीमाला लगाउँदा मनोकामना पूरा हुने विश्वास प्रचलित छ।

देशभरका नारायणस्थलमा ठूलो भीड

आजका दिन विष्णुका मूर्तिलाई रथमा राखेर यात्रा गराउने तथा राति शङ्ख, घन्टा, ढोल बजाउँदै “गोविन्द उठ्नुस्” भन्दै विष्णुलाई जागरण गर्ने परम्परा रहिआएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–४स्थित ऐतिहासिक कालिका मन्दिरमा आज विशेष मेला लागेको छ। त्यस्तै काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, विशंखुनारायण, शेषनारायण, इचंगुनारायण) र भक्तजनले पूजाअर्चना गर्ने छन्।

काठमाडौँको बूढानीलकण्ठ नारायणस्थान पुगे चारै नारायणको दर्शन गरे बराबर हुने धार्मिक विश्वास छ। नारायणहिटीस्थित चातुव्र्युह नारायणस्थानमा पूजा गरे पनि उपत्यकाका चारै नारायणस्थल पुगेजस्तै पुण्य प्राप्त हुने मठाधीश डा. राजेश्वरानन्दले जानकारी दिएका छन्।

फलाहार र व्रत

आजका दिन अन्न खान वर्जित भएकाले भक्तजनले सखरखण्ड, पिँडालु, वनतरुल उसिनेर फलाहार गर्छन्। व्रत बस्नेहरूले एकादशीको पूजा, जप, दान तथा होमले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल प्राप्त हुने धार्मिक विश्वास रहेको विभिन्न ग्रन्थमा उल्लेख छ।

देशभरका नारायण मन्दिर र तुलसी मठहरूमा बिहानैदेखि भक्तजनको भीड बढेको छ।

प्रतिक्रिया दिनुहोस्