तीन विमानस्थलमा उडान स्थगित, माउन्टेन फ्लाइट पनि रोकिए



काठमाडौं,कात्तिक १५ । लगातारको मौसम खराबीले देशभर हवाई यातायात प्रभावित भएको छ । बाक्लो बादल र कम दृश्यता कारण शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ ।

हिमाल दृश्य नदेखिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् । नेपालमा अहिले पश्चिमी वायु र अरब सागरबाट आएको न्यून चापीय प्रणालीको असर देखिएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा आकाश पूर्ण बदली छ भने अन्य प्रदेशमा आंशिक बदली मौसम छ ।

बागमती प्रदेशका केही भागमा र कोशी, मधेश तथा गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम सुधार नहुँदासम्म आन्तरिक उडानमा ढिलाइ वा स्थगन जारी रहने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्