विश्वकप लिग–२ मा लगातार तेस्रो हार : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
काठमाडौं,कात्तिक १५ । आइसीसी विश्वकप लिग २ अन्तर्गत दुबईमा जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमै ६ विकेट गुमाउँदै पूरा गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा अल आउट हुँदै २७१ रनमा रोकिएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए। कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ तथा अन्त्यतिर करण केसीले अविजित ४९ रनको योगदान दिए।
बलिङतर्फ अमेरिकाका हर्मित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २–२ विकेट हात पारे।
२७२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अमेरिकाका मिलिन्द कुमार र साइतेजा मुक्कामल्लाले १२३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे। मुक्कामल्लाले १०१ बलमा ७५ रन बनाए भने मिलिन्दले ७० रन जोड्दै अमेरिकालाई सशक्त स्थितिमा पुर्याए।
ओपनरद्वय स्मिथ पटेलले १६ तथा शयान जहांगिरले ३६ रन जोडे। कप्तान मोनांक पटेल २१ रनमा सीमित रहे।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। गुल्सन झा, करण केसी र नन्दन यादवले १–१ विकेट झारे।
यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो।
लिग–२ को तालिकामा अमेरिका २३ खेलमा १७ जितसहित ३४ अंक बटुलेर शीर्षस्थानमा छ। नेपाल भने १९ खेलमा ५ जित, १२ हार र २ खेल ड्र गरी १२ अंकसहित सातौँ स्थानमा रहेको छ।

