आन्दोलनरत नर्स र सरकारबीच सहमति, निजी अस्पतालले पाँचौँ तह बराबर तलब दिन तयार



काठमाडौं,कात्तिक १५ । देशभर आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएका वार्तापछि सहमति भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वार्तामा गठित कार्यदलका एक सदस्यबाहेक सबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। नर्स प्रतिनिधि भने सहमतिपत्रमा हस्ताक्षर गर्न तयार नभएको उहाँले जानकारी दिनुभयो।

सहमतिको अनुसार निजी मेडिकल कलेज र ठूला निजी अस्पतालहरूले कात्तिक महिनादेखि नै सरकारी पाँचौँ तहअनुसार ३४ हजार ७३० रुपैयाँ तलब प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। अन्य निजी अस्पतालहरूले एक महिनाभित्र वर्गीकरण गरी क्रमशः सरकारी मापदण्डमा पुग्ने गरी तलब वृद्धि गर्न सहमति भएको प्रवक्ता बुढाथोकीले बताए।

यसैबीच, कार्यदलको म्याद एक महिना थपिएको छ। कार्यदलले प्रतिवेदन पेस गरेपछि बाँकी स्वास्थ्य संस्थाहरूले पनि सरकारी मापदण्डअनुसार तलब सुविधा उपलब्ध गराउने अपेक्षा रहेको डा. बुढाथोकीले बताए।

वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नेपाल नर्सिङ संघका अध्यक्ष–महासचिव तथा निजी मेडिकल कलेज र अस्पताल क्षेत्रका प्रतिनिधि सहभागी थिए।

नेपाल नर्सिङ संघको अगुवाइमा विभिन्न स्वास्थ्य शिक्षण संस्था, निजी, सामुदायिक, सरकारी एवं गैरसरकारी अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले न्यूनतम सेवा–सुविधासहित १५ बुँदे माग राख्दै केही दिनदेखि आन्दोलन सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्