सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु



सप्तरी,कात्तिक १६ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा फैलिँदै गएको झाडापखालाको प्रकोपका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरू हप्तादिनको फरक–फर्क समयमा ज्यान गुमाएका हुन् ।

स्थानीय शिवशंकर सदाका अनुसार मृतक तीनै जनामा उच्च ज्वरोसँगै लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो । समयमै प्रभावकारी स्वास्थ्य उपचार नपाउँदा मृत्यु भएको स्थानीयले बताएका छन् । सो टोलमा हाल झाडापखालाका थप बिरामी देखिन थालेका छन् । स्थानीयका अनुसार हालसम्म १५ जनाभन्दा बढीमा झाडापखालाको लक्षण पुष्टि भएको छ ।

बिरामीमध्ये बुचनकी पाँच वर्षीया राधिका, शिवशंकर सदाकी १० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, तीन वर्षीया छोरी गायत्रीकुमारी, छ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदा लगायतका व्यक्तिहरू रहेका छन् ।

घटनापछि स्थानीय सरकार र जनस्वास्थ्य निकाय अहिलेसम्म पर्याप्त सक्रिय नदेखिएको भन्दै स्थानीयवासीले गुनासो व्यक्त गरेका छन् । ‘‘हामीले स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,’’ स्थानीय शिवशंकर सदाले बताए ।

उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी मिलेसँगै तत्काल पहल थालिएको छ । ‘‘स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधि र उपचारका लागि पठाइएका छन् । रोग फैलिन नदिन स्थानीय सरकार सक्रिय रूपमा लागिरहेको छ,’’ वडाध्यक्ष ठाकुरले बताए ।

स्वच्छ खानेपानी र सरसफाइको कमी, साथै बर्खायाममा बग्ने फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ । जनस्वास्थ्य विज्ञहरूले दूषित पानी परीक्षण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल आवश्यक सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्