बन्चरेडाँडामा फोहोर अवरोध बढेपछि मन्त्री कुलमान घिसिङको स्थल निरीक्षण
काठमाडौं,कात्तिक १६ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या गहिरिँदै गएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री स्थलमै पुगेका हुन् ।
शुक्रबारदेखि स्थानीय बासिन्दाले फोहोर बोकेको गाडीलाई ल्याण्डफिल्ड साइटमा प्रवेश गर्न दिएका छैनन् । माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान उनीहरूले लिएका छन् । फोहोर व्यवस्थापन वैज्ञानिक रूपमा हुनुपर्ने र विगतमा भएको सहमति कार्यान्वयन नहुँदा बाध्य भएर अवरोध गरिएको धुनबेँशी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले बताए ।
सिसडोल–बन्चरेडाँडा–कुँडुले क्षेत्रका स्थानीयले काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमति पूर्ण रूपमा लागू गर्न माग गर्दै आएका छन् । २०७९ जेठ २६ मा भएको सहमतिअनुसार फोहोर राति मात्र विसर्जन गर्ने, दुर्गन्ध नउठ्ने व्यवस्थापन गर्ने, फोहोर बोकेका गाडीबाट लिच्चड नचुहिने सुनिश्चितता गर्ने तथा फोहोर विसर्जनपछि लिच्चड खोलामा नपुग्ने गरी वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने व्यवस्था गरिनुपर्ने उल्लेख छ ।
तर, सहमतिका प्रावधान कार्यान्वयन नभएको स्थानीयको भनाइ छ । स्थानीयले माग पूरा नभएसम्म अवरोध जारी रहने चेतावनी दिएका छन् भने उपत्यकामा फोहोर थुपारिने अवस्था झन् जटिल बन्दै गएको छ ।

