आठ कम्युनिष्ट पार्टीबीच एकता सहमति, प्रचण्ड–माधव सहित शीर्ष नेताहरूले गरे हस्ताक्षर



काठमाडौं,कात्तिक १६ । देशका आठ वटा कम्युनिष्ट पार्टीहरूले संयुक्त रुपमा पार्टी एकता गर्ने सहमति गरेका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छलफलपछि दलहरूले एकताको सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रियालाई औपचारिकताको चरणमा प्रवेश गराएका हुन्।

सहमतिपत्रमा हस्ताक्षर गर्ने नेतामध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंह रहेका छन्।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्र माओवादी केन्द्रसहितका कम्युनिष्ट दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका वाम शक्तिसँग एकता गर्ने निर्णय गर्दै प्रक्रियालाई तीव्र बनाएको थियो।

यस सहमतिसँगै मुलुकमा बाम एकताको नयाँ प्रारूपले राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ। एकता प्रक्रियाका प्राविधिक तथा संरचनागत पक्षबारे छलफल गर्दै छिट्टै संयुक्त कार्ययोजना सार्वजनिक हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्