राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार जाने



काठमाडौं,कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुनेछ। संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णयअनुसार ३० वर्षपछि हुन लागेको यस सम्मेलनलाई सदस्य राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सचिव राईले १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलोपटक आयोजित सम्मेलनपछि यसपटक कतारले आयोजना गर्न लागेको सम्मेलन सामाजिक विकासका चुनौती र अवसरबारे गहन छलफल हुने मञ्चका रूपमा रहेको बताए। विकास असमानता, जनसङ्ख्यामा देखिएको असन्तुलन, प्रविधिको तीव्र विकाससँग सम्बन्धित सामाजिक प्रभाव लगायत विषयमा विस्तृत बहस हुने जनाइएको छ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नेपालले शान्ति, विकास र स्थायित्वका पक्षमा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै, हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकोले पनि राष्ट्रपति स्तरको सहभागिताले नेपालको अंतर्राष्ट्रिय भूमिकालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

कतारको औपचारिक भ्रमण पूरा गरेर राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्