भिजेकै धान भित्र्याउन व्यस्त धादिङका किसान
धादिङ, कात्तिक १७ — केही दिनदेखि परेको लगातारको बेमौसमी वर्षाले धादिङमा धानसहित अन्य बालीमा व्यापक क्षति पुगेको छ। किसानहरूले खेतमा काटेर राखेको धान मात्रै होइन, अन्य खेतबाली समेत बिग्रिएको गुनासो गरिरहेका छन्।
निरन्तर पानी परेपछि धेरै खेतमा पानी जमेको छ। काटेर खेतमै छाडिएको धान पानीले भिजेर कुहिन थालेको किसानहरूको भनाइ छ। वर्षभरिका लागि खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले किसानहरू थप तनावमा छन्।
विशेषगरी वर्ण–शङ्कर जातका अगउटे धान बेमौसमी वर्षाबाट बढी प्रभावित भएको कृषि विकास कार्यालय धादिङले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ।
मौसम क्रमशः खुल्दै गएसँगै किसानहरू भिजेको धान सुकाउन र झार्न खेतमै व्यस्त देखिन्छन्। यस वर्ष धादिङ जिल्लामा झण्डै ११ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको थियो।

