आज भद्रुटारको बच्छलादेवी मन्दिरमा मेला लाग्दै, लोकदोहोरी कार्यक्रम पनि हुने



नुवाकोट, कात्तिक १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिर परिसरमा आजदेखि सुरु हुने वार्षिक मेला भव्य रूपमा मनाइने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेसँगै भक्तजनहरूको ठूलो भीड आउने अपेक्षा गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ।

समितिका सदस्य जीवन सिटौलाका अनुसार राति मेला लाग्ने भएकाले विशेष रूपमा प्रकाश व्यवस्थापन तथा मन्दिर परिसरको सफाइलाई प्राथमिकता दिइएको छ। गाउँकी देवीका रूपमा पूजिने बच्छलादेवी मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन विशेष मेला लाग्ने परम्परा रहँदै आएको छ।

मेलाको अवसरमा साँझ भक्तजनहरूले दीपप्रज्वलन गर्दै जाग्राम बसेर भजन, चुट्का तथा धार्मिक कार्यक्रम सञ्चालन गर्ने परम्परा यस वर्ष पनि निरन्तर रहनेछ। साथै मेलालाई अधिक आकर्षक बनाउन यस वर्ष लोकदोहोरी प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको छ, जसमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ।

ख्यातिप्राप्त दोहोरी गायक बद्री सिटौला, जगत बोगटीलगायतका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने जानकारी मन्दिर संरक्षण समितिका सदस्य जीवन तामाङले दिएका छन्। झाक्री नाच, लोक खैचडी भजन तथा अन्य सांस्कृतिक कार्यक्रमले पनि मेलामा रौनक थप्नेछन्।

कार्यक्रमका प्रमुख अतिथि पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रहने मेला आयोजक समितिले जनाएको छ। पञ्चकन्या, महाकाली, थानापति, कबिलासदेखि काठमाडौंबाट समेत भक्तजनको ठूलो उपस्थितिको अनुमान गरिएकाले सुरक्षा व्यवस्था कडा बनाइएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्