नुवाकोटको पञ्चकन्या–५ भद्रुटारमा वर्षापछिको धान क्षति अनुगमन सुरु
नुवाकोट, कात्तिक १८ —अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएपछि पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा सोमबारदेखि आधिकारिक रूपमा क्षति अनुगमन तथा लगत संकलन कार्य सुरु गरिएको छ। खेतबारीमा भएको क्षतिको वास्तविक अवस्था बुझ्न गाउँपालिका उपाध्यक्ष विमला के.सी., वडा नं. ५ का वडा अध्यक्ष माधव सिटौला, कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिक सहितको टोली प्रभावित क्षेत्रमा पुगेको हो।
लगातारको वर्षाले धानबाली रोपाइँदेखि भित्र्याउने तयारीसम्मका विभिन्न चरणमा गम्भीर असर पु¥याएपछि वास्तविक तथ्याङ्क संकलनलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ। अनुगमन टोलीले धान डुबान, कुहिन, झर्ने लगायतका क्षतिबारे प्रत्यक्ष अवलोकन गर्दै किसानसँग संवादसमेत गरेको छ।
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले क्षतिग्रस्त किसानहरूले आफ्नो क्षतिको स्पष्ट फोटो, आवश्यक विवरण तथा प्रमाण उपलब्ध गराई लगत संकलनमा सहयोग गर्न आग्रह गरेका छन् ।
यसैबीच नुवाकोट जिल्लाका अन्य स्थानीय तहहरू—लिखु, शिवपुरी, ककनी, बेलकोटगढी, तादी र दुप्चेश्वरमा पनि निरन्तर वर्षापछिको धान क्षतिको अनुगमन र लगत संकलन कार्य तीव्र बनाइएको छ। संकलित विवरणका आधारमा राहत तथा सहयोगका प्रक्रिया अघि बढाइने सम्बन्धित निकायहरूले जनाएका छन्।

