नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु, महाधिवेशनको मिति तय गर्न दुवै पक्ष तयार



काठमाडौँ,कात्तिक १८ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थगित केन्द्रीय समिति बैठकलाई आजबाट निरन्तरता दिने निर्णय गरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा पार्टीभित्रका दुवै धार—संस्थापन र इतर—ले महाधिवेशनका लागि आ–आफ्नो कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन्। सोमबारको कार्यसम्पादन बैठकमा दुवै पक्षबीच यस विषयमा धारणा राख्ने सहमति बनेको थियो।

महाधिवेशनको मितिमा अहिले पनि दुई धार कायम रहेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व रहेको इतर पक्षले पुस मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। उता संस्थापन पक्षले भने आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याउँदै आजको बैठकमा पनि सोही धारणा प्रस्तुत गर्ने भएको छ।

आजको केन्द्रीय समिति बैठकमा दुवै पक्षले महाधिवेशनको कार्यतालिका, सम्भाव्यता र औचित्यबारे विस्तृत धारणा राखेपछि छलफल अघि बढ्ने कांग्रेस स्रोतले जनाएको छ। महाधिवेशनको मिति टुंगो लगाउनेतर्फ आजको बैठक निर्णायक बन्न सक्ने आकलन राजनीतिक विश्लेषकहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्