विवादास्पद अभिव्यक्ति सार्वजनिक गर्दै आएका निकोलस भुसाल पक्राउ
गोरखा,कात्तिक १८ — सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति सार्वजनिक गर्दै आएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर विकका अनुसार भुसाललाई सदरमुकाम नजिकै रहेको रानीवन क्षेत्रको सरस्वती आश्रमबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
भुसाल सोमबार गोरखा पुगेका थिए। सामाजिक सञ्जालमा दिँदै आएका विवादित अभिव्यक्तिबारे सोधपुछ आवश्यक परेकाले पक्राउ गरिएको प्रहरीको बुझाइ छ।
उनलाई थप अनुसन्धानका लागि काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको डीएसपी विकले जानकारी दिए।
भुसाल पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका कारण व्यापक रूपमा चर्चामा आएका थिए।

