माओवादी केन्द्रसहित ८ दल एकतामा, नयाँ नाम ‘नेपाली कम्युनिष्ट पार्टी’



काठमाडौँ,कात्तिक १८ — नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालयको प्रस्ताव अनुमोदन गरेको छ। बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले एकताको दिशामा अघि बढ्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहनेछ। पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवादमा आधारित रहने उनले बताए।

सापकोटाका अनुसार पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी र जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र सामाजिक–आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने रहनेछ। आन्दोलन भने शान्तिपूर्ण रूपमा अघि बढाइने र परिस्थितिअनुसार सडक, सदन र सरकार सबैलाई आन्दोलनका मोर्चा बनाया जाने उनले स्पष्ट पारे।

पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबारै काठमाडौँमा आयोजना गरिने पनि सापकोटाले बताए। सो सम्मेलनबाट पार्टी एकता, घोषणापत्र, अन्तरिम विधान पारित गर्ने तथा केन्द्रीय समिति गठनलगायतका काम सम्पन्न गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्