ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द, सरसफाइमा चरम लापरबाही
काठमाडौं,कात्तिक १८ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका अस्पताल क्यान्टिनहरूको अनुगमन गर्दा ओम अस्पतालको क्यान्टिनमा गम्भीर लापरबाही भेटिएको छ ।
चाबहिलस्थित ओम अस्पतालको हेल्दी बाइट्स सर्भिसेस प्रालिले सञ्चालन गरेको क्यान्टिनमा म्याद गुज्रिएका वस्तु, लेबलविहीन खाद्य सामग्री, अस्वच्छ वातावरण र अव्यवस्थित कीट नियन्त्रण प्रणाली भेटिएपछि ७ दिनका लागि बन्द गरिएको हो ।
अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिनले व्यवसाय दर्ता समेत नगरेको पाइएकाले स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यस क्रममा टोलीले म्याद गुज्रिएका दूधका बोतल पनि नष्ट गरेको थियो । अस्पतालका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको र सरसफाइ सुधारपछि मात्रै पुन: सञ्चालन गर्ने बताए ।
त्यस्तै, मेडिकेयर र हेल्पिङ ह्यान्ड्स अस्पतालका क्यान्टिनमा सरसफाइ अवस्था तुलनात्मक रूपमा राम्रो पाइए पनि कीट नियन्त्रण र खाद्य लेबलिङमा सुधार आवश्यक रहेको टोलीको निष्कर्ष छ ।

