अबिरल वर्षाले धानबालीमा व्यापक नोक्सानी, एमाले पञ्चकन्याद्वारा किसानलाई उचित क्षतिपूर्तिको माग
नुवाकोट,कात्तिक १८ । नुवाकोटको पञ्चकन्या गाउँपालिकासहित देशभरि परेको अविरल वर्षाका कारण स्थानीय किसानका धानबालीमा ठूलो मात्रामा क्षति भएको छ। पञ्चकन्याका सयौँ किसानको वर्षभरिको मेहनत हप्तादिनदेखिको लगातार वर्षाले स्वाहा पारेको हो । खेतभरि डुबेको धान देखेर धेरै किसान भावविह्वल बनेका छन्।
यसैबीच किसानको पीडा प्रत्यक्ष अवलोकन गर्दै नेकपा (एमाले) पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष रामनाथ खनाल नेतृत्वको टोली स्थानीय सरकारसमक्ष पुगेर समस्याको समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ।
टोलिले गाउँपालिकाका उपाध्यक्ष बिमला केसीलाई भेटी किसानको नोक्सानीबारे विस्तृत जानकारी गराउँदै चारवटा मुख्य माग प्रस्तुत गरेको हो । टोलिले २०७८ सालतिर पनि यस्तै क्षति हुँदा किसानले राहत नपाएको दुखद घटना दोहोरिन नदिने सुनिश्चितता गर्न माग गर्दै, यसपटक प्रदेश र संघीय सरकारसँग अधिकतम पहल गरी अनिवार्य रूपमा धानबाली क्षतिपूर्ति उपलब्ध गराउन जोडदार आग्रह गरेको छ।
त्यस्तै, नोक्सानी विवरण संकलनका लागि गाउँपालिकाले सूचना जारी गरेकोमा धन्यवाद व्यक्त गर्दै समयावधि न्यूनतम ७ दिन बढाउनुपर्नेमा पनि एमाले टोलीको जोड रहेको छ । साथै, विवरण संकलनको प्रमुख जिम्मेवारी वडाअध्यक्षलाई दिने र वडास्तरमै टोली परिचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
टोलिले राखेका माग पश्चात् उपाध्यक्ष केसीले किसानको पीडा गाउँपालिकाको पनि साझा समस्या भएको बताउँदै, माथिल्लो सरकारसँग समन्वय गरी राहतका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए। आवश्यक परे गाउँसभा बसेर पनि सहजीकरण गर्ने आश्वासन उनले दिए।

