वामपन्थी एकताको घोषणा तयारी : समाजवादी क्रान्तितर्फ अघि बढ्ने वातावरण बनेको प्रचण्डको दाबी



काठमाडौं,कात्तिक १९ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका वामपन्थी शक्तिबीचको एकताले मुलुक समाजवादी क्रान्तितर्फ अघि बढ्ने वातावरण निर्माण भएको दाबी गर्नुभएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जेनजी आन्दोलनले उत्पन्न गरेका परिवर्तनलाई समाजवादी क्रान्तिको दिशामा संश्लेषण गर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो।

पार्टीभित्र देखिएको असन्तुष्टिको सन्दर्भमा संयोजक दाहालले नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा फर्किन आग्रह गर्नुभयो। “तपाईंले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरूबीच ऐक्यबद्धता अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै परिवर्तनकारी राजनीतिक शक्ति एक होस् भनेर आह्वान गर्नुभयो। प्रचण्डले वामपन्थी तथा देशभक्त अभियान सञ्चालन गरिरहेका अन्य नेताहरू पनि एकता प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय कार्यभार पूरा गर्न बृहत् वामपन्थी एकताको तयारी भइरहेको स्पष्ट पार्नुभयो। उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण समयको माग भएको भन्दै सबै देशभक्त शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता दोहोर्‍याउनुभयो।

बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ। पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न विभिन्न नौ वाम घटकबीच एकता घोषणा गर्न लागिएको जानकारी दिनुभयो।

सापकोटाका अनुसार भोलि भृकुटीमण्डपमा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक एकीकृत पार्टी घोषणा गरिनेछ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)सहित नौ वाम समूह एकीकृत हुन लागेका हुन्।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने र ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ पार्टीको कार्यक्रम हुने भन्दै सापकोटाले सबै घटकको संयुक्त केन्द्रीय बैठकमार्फत घोषणापत्र, अन्तरिम विधान तथा केन्द्रीय समिति गठन गरिने जानकारी दिनुभयो। आगामी चुनावका लागि पार्टीको चिह्न पाँचकुने तारा रहने सहमति भएको पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्