नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान
नुवाकोट,कात्तिक १९ — स्वास्थ्य सुरक्षामा जोड दिँदै नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान सुरु गरिएको छ। विद्यार्थीहरू अभिभावकलाई प्रभावकारी रूपमा स्वास्थ्य सन्देश पुर्याउन सक्षम हुने निष्कर्षपछि शिवपुरी गाउँपालिकाले सो अभियान संचालन गरेको हो।
शिवपुरी गाउँपालिकाको आयोजनामा, विश्व ‘एक स्वास्थ्य दिवस’ (नोभेम्बर ३) का अवसरमा थानापतिस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई एक स्वास्थ्य (One Health) अवधारणाबारे विस्तृत जानकारी दिइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले विद्यार्थीहरू इमानदार, सचेत र आफ्नो परिवारलाई बुझाउन सक्ने क्षमतायुक्त भएकाले उनीहरूमार्फत अभिभावकमाझ पुर्याइने स्वास्थ्य सन्देशले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा जूनोटिक रोगहरू, एन्टिमाइक्रोबियल प्रतिरोध, खाद्य सुरक्षा तथा वातावरणीय जोखिमजस्ता विषयमा अन्तरक्रिया गरियो। विद्यार्थीहरूलाई मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको गहिरो सम्बन्ध तथा तिनको समन्वयमार्फत स्वास्थ्य जोखिम कम गर्न सकिने उपायबारे सचेत बनाइयो।
आयोजकका अनुसार विश्व एक स्वास्थ्य अवधारणाले मानिस, जनावर र वातावरण एकअर्कासँग घनिष्ठ रूपमा जोडिएको बताउने भएकाले कुनै एक क्षेत्रमा देखिएको समस्या अर्को क्षेत्रमा पनि असर पार्न सक्ने चेतना विद्यार्थीमार्फत समाजमा फैलाउने उद्देश्य रहेको छ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका कार्यपालिका सदस्य तथा संयोजक रिता नेपाली, वडा नं. ८ का अध्यक्ष केशव रिजाल, जनज्ञान निकेतन माविका प्रधानाध्यापक अर्जुन लामिछान, शिक्षा शाखाका ध्रुव न्यौपाने, पशु सेवा शाखा प्रमुख डा. सिजन अधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकको समेत सहभागिता थियो।

