देविघाटस्थित जालपादेवी मन्दिरमा १०८ धाराको शिवकुण्ड हस्तान्तरण, धार्मिक विधिपूर्वक प्राण–प्रतिष्ठा सम्पन्न
नुवाकोट,कात्तिक १९— विदुर नगरपालिका–५ देविघाटमा रहेको जालपादेवी मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराको शिवपुण्ड (शिवकुण्ड) जालपा क्षेत्र विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
शिवकुण्डको निर्माणकर्ता, बेलकोटगढी–१३ दाङमाका स्थायी बासिन्दा तथा हाल अमेरिका बस्दै आएका रुपक लोहनीले धार्मिक विधिअनुसार शिव मूर्तिको प्राण–प्रतिष्ठा सम्पन्न गरी समिति प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
लोहनीले देविघाट क्षेत्रको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई थप उचो बनाउन योगदानस्वरूप यो संरचना निर्माण गरेका हुन्। आकर्षक ढंगले तयार गरिएको १०८ धाराको शिवपुण्डले मन्दिर परिसरमा धार्मिक वातावरण थप सुष्ठु बनाउने तथा तीर्थयात्रीलाई सुविधा दिने अपेक्षा गरिएको छ।
जालपा क्षेत्र विकास समितिका पदाधिकारीहरूले लोहनीप्रति कृतज्ञता व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र विकासमा समुदाय तथा विदेशमा रहेका स्थानीयको सहयोग महत्वपूर्ण रहेको बताएका छन्।
समितिले आगामी दिनमा मन्दिर क्षेत्रको थप संरचना विकास, सरसफाइ व्यवस्थापन र भक्तजनका सुविधामा सुधार गर्दै जाने योजना रहेको जनाएको छ।

