नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा सुरु, उपत्यकाका १९ स्थानमा वाइफाइ पहुँच
काठमाडौं,कात्तिक १९— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्। राजधानीका प्रमुख सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने निर्णयअनुसार आजदेखि नयाँबसपार्कबाट सेवा उपलब्ध गराइएको हो।
असोज ६ गते पदबहालीका क्रममा निःशुल्क इन्टरनेट विस्तार गर्ने प्रतिबद्धता जनाएका मन्त्री खरेलले उद्घाटन समारोहमा काठमाडौँ उपत्यकाका १९ ठाउँमा निःशुल्क इन्टरनेट जडान भइसकेको जानकारी दिए।
उहाँले भने, “पदबहालीको दिन मैले गरेको प्रतिबद्धता अनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ। यसलाई क्रमशः उपत्यकाबाहिरका स्थानहरूमा पनि विस्तार गर्दै लगिनेछ।”
मन्त्री खरेलले दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचो बेसक्याम्प लगायतका दुर्गम क्षेत्रमा इन्टरनेट सेवा पुर्याइसकिएको उल्लेख गर्दै सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायत कमजोर नेटवर्क भएका क्षेत्रमा उचित र प्रभावकारी इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकता दिएको बताए।
सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्यसहित देशका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट पहुँच विस्तारमा कार्यहरूको गति बढाइएको छ।
उद्घाटन कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले स्रोतसाधन, प्रविधि र सेवाग्राहीको आवश्यकता अनुसार देशभर इन्टरनेटको क्षमता विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

