नुवाकोटमा सवारीसाधन चोरी क्रम बढ्दो, शिवपुरीमा पार्किङको मोटरसाइकल चोरी
नुवाकोट,कात्तिक १९ । जिल्लामा पछिल्लो समय सवारीसाधन चोरीको घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार चोरीका घटनासंग सम्बन्धित उजुरी आउने गरेको छ ।
शिवपुरी गाउँपालिका–८, थापागाउँ छहरे–टोखा राजमार्ग नजिक रहेको जागरुक कृषि सहकारीको आसपास क्षेत्रबाट एक मोटरसाइकल गएराति चोरी भएको छ। विष्णु रिजालको नाममा दर्ता रहेको उक्त पल्सर मोटरसाइकल राति पार्किङमै राखिएको अवस्थामा हराएको हो।
गएरातिदेखि बेपत्ता भएको मोटरसाइकलको खोजतलासका लागि छहरेस्थित अस्थायी प्रहरी चौकीमा निवेदन दिइएको रिजालले बताएका छन्। हालसम्म मोटरसाइकल फेला नपरेको र शंकास्पद ठाउँ–ठाउँमा देखिएमा तुरुन्तै जानकारी गरिदिन स्थानीयले आग्रह गरेका छन्।
मोटरसाइकल देखिएमा ९८६९१२७३४७ मा सम्पर्क गर्न या नजिकको प्रहरी कार्यालयमा खबर गर्न परिवारले अनुरोध गरेको छ।

