नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि महायज्ञ सुरु



नुवाकोट,कात्तिक १९ । “स्वास्थ्यमा दान, महादान” भन्ने मूल नारासहित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि आयोजित महायज्ञ आज कात्तिक १९ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। भिमेश्वर सामुदायिक संस्थाद्वारा आयोजित महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ।

महायज्ञको उद्घाटन बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर लामा र उपमेयर शिवप्रसाद दाहालले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले नगरपालिकाभित्र एक पनि सामुदायिक अस्पताल नहुँदा स्थानीयले भोग्नुपरेको कठिनाइ स्मरण गर्दै अस्पताल निर्माण अभियानमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो।

मेयर लामाले आफूले मेयरको रूपमा पाउने एक वर्षको सम्पूर्ण सुविधा (२०७२/०८३) सामुदायिक अस्पतालको लागि हस्तान्तरण गर्ने घोषणा गर्नुभयो। करकट्टीपछि सहयोग रकम ४ लाख ४४ हजार रुपैयाँ हुने मेयर सचिवालयले जनाएको छ। साथै तत्काल महायज्ञ सञ्चालनका लागि आवश्यक सोफा तथा केही फर्निचर उपलब्ध गराउन समन्वय गर्ने निर्देश पनि दिनुभयो।

त्यसैगरी, उपमेयर शिवप्रसाद दाहालले महायज्ञका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। अस्पताल निर्माण सफल बनाउन स्थानीय तह, जनप्रतिनिधि तथा समुदाय सबैको साझा योगदान आवश्यक रहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत तर्फबाट पनि सहयोग रहने बताउनुभयो।

कार्यक्रमको सभापतित्व भिमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले गर्नुभएको थियो। महायज्ञको आर्थिक व्यवस्थापन समिति तर्फबाट शम्भु सिग्देलले सम्पूर्ण खर्च तथा आय–व्यय पारदर्शी रूपमा सार्वजनिक गरिने आश्वासन दिए।

महायज्ञ शुभारम्भसँगै आज बिहान कलशयात्रा सम्पन्न गरिएको थियो। स्थानीय महिलाहरूको सहभागितामा महादेवफाँटबाट बुधसिंडाघाटसम्म कलश यात्रा गरिएसँगै प्रसिद्ध भागवत कथावाचिका राधिका दासीलाई विशेष स्वागत गरिएको थियो। कार्यक्रममा स्थानीय भेषभूषा प्रदर्शन, लाखे नाच तथा पञ्चेबाजा सहितको सांस्कृतिक परिक्रमा समेत गरिएको थियो।

चर्चित कथावाचिका राधिका दासीले महायज्ञभर कथा वाचन गर्दै जाने जनाइएको छ। महायज्ञमा स्थानीयहरूको सक्रिय सहभागिता देखिएको छ भने मुख्य कर्तव्य जिम्मा पूर्व वडाध्यक्ष हेमनिधि नेपालले सम्हाल्ने आयोजकहरूले बताएका छन्।

गल्छी–त्रिशूली सडकखण्डमा पर्ने यस क्षेत्र अस्पतालविहीन भएकाले विगतमा धेरैले उपचार अभावमा ज्यान गुमाउनुपरेको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सामुदायिक अस्पताल निर्माण अभियान सुरु गरिएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्