पराजुली परिवारद्वारा विद्यालयलाई बालमैत्री सामग्री हस्तान्तरण



नुवाकोट,कात्तिक १९ । स्थानीय विद्यालयका साना बालबालिकाका शिक्षण तथा खेलकुद वातावरण सुधार गर्न उमानाथ पराजुलीले आफ्नी दिवंगत धर्मपत्नी नन्दकुमारी पराजुलीको स्मृतिमा विद्यालयलाई महत्वपूर्ण बालमैत्री सामग्री प्रदान गरेका छन्। विद्यालयसँग प्रत्यक्ष सम्बन्ध नभए पनि बालबालिकाको भलाइका लागि गरिएको यो योगदान विद्यालय समुदायका लागि अत्यन्तै प्रेरणादायी मानिएको छ।

विद्यालयमा संरचनागत अभावका कारण साना बालबालिकाले लामो समयदेखि ठूला डेस्क–बेन्चमा बस्नुपरेको, साथै खेलकुदका आधारभूत सामग्री नहुँदा उनीहरूको शारीरिक तथा मानसिक विकासमा असर परेको गुनासो आयो। यिनै समस्यालाई ध्यानमा राख्दै पराजुलीले १० सेट बालमैत्री डेस्क–बेन्च, २ सेट राउण्ड डेस्क–बेन्च, एक थान चिप्लेटी, एक सेट दुई सिट भएको पिङ र एक थान ढिकीच्याउ (चाकाचुली) विद्यालयलाई हातेमालो स्वरूपमा उपलब्ध गराएका हुन्।

यस सामग्री हस्तान्तरणलाई सफल र सहज बनाउन खगेन्द्र प्रसाद पोखरेल, यशोदा पराजुली, निर्मला पराजुली र सन्जिता पराजुलीले गरेको सहयोग तथा समन्वयप्रति विद्यालयले विशेष आभार व्यक्त गरेको छ।

विद्यालय प्रशासनले उपलब्ध गराइएका सामग्रीहरूले बालबालिकाको सिकाइ वातावरण सुधार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बालमैत्री कक्षा कोठा, खेल क्षेत्र र समग्र बाल-बिकासमा यसले सकारात्मक प्रभाव पर्ने विद्यालयले जनाएको छ। सामुदायिक सहयोगले शिक्षाको गुणस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै विद्यालयले यस्ता सद्भावपूर्ण योगदानलाई निरन्तरता मिल्ने आशा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्