राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौं,कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव तथा सुरक्षा निकायका प्रमुखहरू उपस्थित रहँदै राष्ट्रपति पौडेललाई स्वागत गरिएको थियो। सो अवसरमा नेपाली सेनाले सलामी गार्ड अर्पण गरेको थियो।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित दोहा प्रस्थान गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णयअनुसार आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो।
राष्ट्रपति पौडेलले सामाजिक विकासका तीन आधार—गरिबी निवारण, पूर्ण तथा उत्पादनशील रोजगारी र सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरण—सम्बन्धी उच्चस्तरीय गोलमेचमा पनि मन्तव्य राख्नुभयो। सोही दिन उहाँले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो।
दोहा बसाइको क्रममा राष्ट्रपति पौडेलले कतार राष्ट्रिय सङ्ग्रहालय अवलोकन समेत गर्नुभयो। १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलनमा अहिलेको विश्वले सामना गरिरहेको विकास असमानता, जनसङ्ख्यागत परिवर्तन र प्रविधिको प्रभावजस्ता विषयमा समसामयिक छलफल भएको थियो।
संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्रका रूपमा नेपाल शान्ति, स्थायित्व तथा सामाजिक विकासका एजेन्डामा निरन्तर सक्रिय रहँदै आएको छ। अहिले नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्षसमेत रहेको छ।

