प्रिमियम महसुलको पहिलो किस्ता बुझाएपछि रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन पुनः जडान
काठमाडौं,कात्तिक २० । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गरेको बापत तिर्न बाँकी रहेको प्रिमियम महसुलमध्ये पहिलो किस्ता रिलायन्स स्पिनिङ मिल्सले बुझाएको छ। पहिलो किस्ता तिर्नासाथ प्राधिकरणले विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो।
रिलायन्स स्पिनिङ मिल्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म प्रयोग गरेको डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम महसुल बक्यौता ७५ करोड ३७ लाख रुपैयाँ रहेको छ। प्राधिकरणले सो रकमलाई २८ किस्तामा विभाजन गरेको थियो। सम्झौताअनुसार कम्पनीले बिहीबार २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता रूपमा भुक्तानी गरेको हो।
प्राधिकरणका अनुसार अब बाँकी रकम पनि तोकिएको समयसीमाभित्र किस्ताबन्दीमै भुक्तानी गरिँदै जानेछ।

