हेटौंडामा अर्थोपेडिक सर्जनमाथि हातपात, चिकित्सक संघको कडा आपत्ति



मकवानपुर,कात्तिक २० । मकवानपुरको हेटौंडास्थित सिएमसि चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बुधबार साँझ करिब ७ बजेतिर हेटौंडा–११ का अजित विडारीले ड्यूटीमा रहेका डा. शाहमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लडेर कुहिनोमा चोट लागेका एक बिरामीलाई रिफर गर्ने विषयमा विवाद हुँदै घटना भएको बताइएको छ। अस्पतालका निर्देशक डा. अकेश प्रजापतिको अनुसार सर्जनले बिरामी जाँच गर्न नपाउँदै आफन्तले रिफर गर्न दवाब दिएपछि स्थिति बिग्रिएको हो। घटनाका दृश्य अस्पतालको सिसिटिभी फुटेजमा समेत कैद भएका छन्।

घटनापछि नेपाल चिकित्सक संघ मकवानपुर शाखाले दोषीमाथि कडाभरि कानुनी कारबाहीको माग गरेको छ। बिहीबार जारी विज्ञप्तिमा संघले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)” अनुसार तत्काल कारबाही अघि बढाउन आग्रह गरेको हो।

चिकित्सक संघले चिकित्सकको सुरक्षामा भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाही नगरे कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्